बागलुङ सेवा समाज अमेरिकाले नेपाल रेडक्रस सोसाइटी, बागलुङद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई जेनेरेटर र रक्तदान कुर्ची सहयोग गरेको छ । धवलागिरि प्रादेशिक अस्पताल परिसरमा आइतबार आयोजित कार्यक्रममा समाजका महासचिव खिबराज शर्माले ती उपकरण केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो ।

समाजले उपलब्ध गराएको रु। १४ लाख पाँच हजार आठ सय ६६ बाट रु। नौ लाख ५० हजारको जेनेरेटर र बाँकी रकमबाट तीनवटा रक्तदान कुर्चीलगायत सामग्री खरिद गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले प्रवासी नेपालीहरुले गरेको उक्त सहयोगमा प्रशंसा गर्नुभयो । समाजका महासचिव शर्माले शर्माले उपकरणको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

अमेरिका बस्ने ३७ जना सहयोगीहरुबाट उक्त रकम जम्मा भएको उहाँले जानकारी दिनुभयो । रेडक्रसका जिल्ला सभापति जनन्नाथ आचार्यले समाजले गरेको उपकरण सहयोगबाट रक्तसञ्चार केन्द्रको सेवा प्रवाह थप सहज हुने बताउनुभयो ।

विद्युत् आपूर्ति बन्द भएका बेला पनि जेनेरेटरबाट रक्तसञ्चार केन्द्रका सबै सेवा नियमित हुने उहाँको भनाइ छ । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलगायले मन्तव्य राखेका थिए ।