प्रत्येक वर्ष चैते दशैको अवसर पारी चैत्र शुक्ल अष्टमीका दिन देखि बागलुङमा चैते दशै मेला लाग्ने गर्दछ । चैते दशै मेलाले बागलुङको ऐतिहासिक, धार्मिक, सामाजिक, साँस्कृतिक पक्षलाई समेट्न गरेको पाइन्छ । मेलाको अवसरमा विविध खेलकुद साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउने गरिन्छ । यस वर्ष पनि चैत्र १३ देखि १७ गते सम्म बागलुङमा चैते दशै मेला सम्पन्न गरिएको छ ।

बागलुङमा सञ्चालन हुने मेला गण्डकी प्रदेशकै सबैभन्दा ठुलो र महत्व बोकेको मेलाको रुपमा परिचित रहेको छ । देश सँगै विदेशमा रहेका नेपालीहरुले पनि यस मेलालाई विशेष महत्व दिने गरेको पाइन्छ । यस वर्ष बागलुङ सँगै अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले समेत चैते दशैको अवसर पारी चैते दशै मेलाको आयोजना गरि विविध साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ मनाएका छन् । बागलुङ सेवा समाज अमेरिकाको आयोजनामा अमेरिकाको न्युयोर्कको बुरुक्लिनमा रहेको हाइल्यान्ड पार्कमा १ दिने मेलाको आयोजना गरि चैते दशै सँगै नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गरि मेला सम्पन्न गरिएको बागलुङ सेवा समाज अमेरिकाका अध्यक्ष सकस बहादुर घर्तिले जानकारी दिनुभयो ।

स्वदेशबाट विभिन्न शिलशिलामा विदेशको जुनकुनै ठाँउमा रहेपनि आफ्नो जन्मभुमि सँगै आफ्नो परम्परा, संस्कार र संस्कृतिको जर्गेना गर्नुपर्ने भन्दै विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध गर्नेको लागि मेला पर्वले नै मुख्य भुमिका निर्वाह गर्ने भएकोले नै समाजले मेलाको आयोजना गरि भव्यता साथ मेला सम्पन्न गरेको समाजका वरिष्ठ उपाध्यक्ष मिन खड्काले बताउनुभयो । मेलाको अवसरमा भलिबल, छेलो फाल्ने, लुट्ठो तान्ने लगायतका प्रतियोगितात्मक कार्यक्रम तथा नौमति पञ्चेबाजा सहित राष्ट्रिय कलाकार बिमा कुमारी दुरा, १४ पटक सम्म गिनिज बुक वर्ल्ड रेकर्ड राख्न सफल दिनेश सुनार, जादुगर महादेव त्रिपाठी, पार्कर लगायतको प्रस्तुती रहेको थियो । मेलामा बागलुङ, पर्वत, म्यादी सँगै अन्य जिल्लाहरुबाट विभिन्न शिलशिलामा अमेरिकामा रहेका नेपालीहरुको उपस्थिती रहेको थियो । मेलालाई यस वर्ष मात्र नभएर आगामी वर्षहरुमा समेत निरन्तरता दिने समाजका महासचिव कृष्ण राज सुवेदीले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *